सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौं । निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन कार्यदलको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको पहिलो बैठकमा सिट बाँडफाँटको मोडालिटीका विषयमा छलफल हुनेछ ।

गठबन्धनले सिट बाँडफाँटका लागि ११ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।