पत्रकारलाई निष्पक्ष भएर चुनावी रिपोर्टिङ गर्न आग्रह

सुर्खेत ।आगामी मंसिरमा हुने प्रदेश तथा संघिय निर्वाचनमा पत्रकारलाई निष्पक्ष भएर चुनावी रिपोर्टिङ गर्न आग्रह गरिएको छ । मिडिया एक्सन नेपालले सुर्खेतमा विहीवार निर्वाचनमा स्वस्थ मिडिया कभरेजवारे कार्यक्रमको आयोजना गरी घृणायुक्त र दुष्प्रचारबाट बच्न आग्रह गरेको हो ।

निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले एक अर्काप्रति घृणायुक्त भाषण गर्ने दुष्प्रचार बढी गर्ने भएकोले संचारमाध्यम र संचारकर्मीहरुले त्यस्ता भाषणलाई सन्तुलित बनाएर सम्प्रेष्ण गर्नुपर्ने बताइएको छ । संचारमाध्यममा घृणायुक्त र दुष्प्रचार कदापि हुनुहुँदैन भन्दै कार्यक्रममा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहितालाई पूर्ण पालना गर्न सके काम गर्न सहज हुने जनाइएको छ ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदक्त पन्तले पत्रकारले के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा स्पष्ट भएर काम गर्नुपर्ने बताउनु भयो । ‘घृणायुक्त प्रचार र दुश्प्रचार पत्रकारले कहिले पनि गर्न हुदैन’, उहांले भन्नु भयो, ‘पत्रकार भनेको स्वतन्त्र अनि निष्पक्ष हुनुपर्छ ।’ पत्रकारले दिने सुचनाले नागरिकमा चेतना फैलाउने हुदा सहि तरिकाले सुचना सम्प्रेशन गर्नुपर्नेमा अध्यक्ष पन्तले जोड दिनु भयो । पत्रकारले आफुले गर्ने कामको बारेमा पुर्ण जानकारी हुनुपर्ने अध्यक्ष पन्तको भनाई छ । निर्वाचनको समयमा पत्रकारले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितामा रहेर मात्रै माम गर्न उहांले सुझाएको हो ।

मानवअधिकारको सवालमा सहि दृष्टिकोणले सुचना दिएर नागरिकलाई सुशुचीत गराउन मिडियाको भुमिका महत्वपुर्ण हुने दि हिमालय टाइम्सका सम्पादक राजन पोखरेलले जानकारी दिनु भयो । मानअधिकार, निर्वाचन प्रावधान र मापदण्डहरुलाई पालना गरेर पत्रकारले निर्वाचन रिपोर्टिङ गर्न सम्पादक पोखरेलले बताउनु भयो । निर्वाचनमा रिपोर्टिङका चरणहरुमा केन्द्रित रहेर पत्रकारका कलम चल्नुपर्नेमा उहांको जोड छ ।

यस्तै, स्वास्थ्य टि.भी अनलाईनका सम्पादक कल्पना आचार्यले निर्वाचनको समयमा राजनितिक दल तथा नेताहरुले घृणायुक्त र आक्रोशयुक्त भाषण गर्ने हुदा त्यस्ता अभिव्यक्ति जस्ताको त्यस्तै राख्दा पुग्ने असरका विषयमा पनि विचार गर्न आग्रह गर्नु भयो । ‘नेताको सोच आफुले जित्नैपर्छ भन्ने हुन्छ, यस्तो बेला भाषण गर्दा अर्को पार्टिलाई नराम्रो भन्ने र आक्रोश पोख्ने हुन्छ’, उहांले भन्नु भयो, ‘उनीहरुले भनेको कुरा कोड गरेर राख्ने की नराख्ने भन्ने पत्रकारले सोचेर मात्रै गर्नुपर्ने हुन्छ, जसले अर्को कुनैलाई असर नपुर्‍याओस् ।’ पत्रकारले एक वा अर्को पार्टि वा व्यक्ति नभनेर समावेशी तरिकाले मिडिया सामाग्री सम्प्रेशन गर्नुपर्नेमा उहांको जोड छ । अपाङ्गता भएका, बृद्धबृद्धा र सुत्केरी तथा कुनै समस्यामा परेका महिलाले अझैपनि सहज रुपमा निर्वाचनमा भाग लिन नसकेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको उहांले बताउनु भयो । परिवारमा पुरुष सदस्यले भनेको कुरा नकार्न नसक्ने अवस्थाले निर्वाचनमा कसलाई भोट दिने भन्ने कुरामा महिलालाई अझै पनि समस्या पर्ने गरेको उहांको भनाई छ ।
निर्वाचनमा उम्मेदवार, दलहरुका एजेण्डाका साथै आवाजविहीन तथा सीमान्तकृत समुदायको आवाजलाई प्राथमिकता दिनुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन संचारमाध्यमहरु सक्रिय हुनुपर्ने र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता पूर्ण पालना गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।