काठमाडौं । सरकारले काठमाडौंको कीर्तिपुर र मुलपानी रंगशालाको स्तरोन्नति गरी दुई वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चाल हुने व्यवस्था गर्ने घोषणा गरेको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मैदानको स्तरोन्नती गरी दुई वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिने घोषणा गरे ।
‘आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ ।’
खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लैजाने र खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खेलकुदलाई राष्ट्रको पहिचान¸ गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने उहाँले घोषणा गर्नुभयो ।
‘हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ । वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ । एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर बजार । ५ जेष्ठ २०८०, शुक्रबार १९:०३