म्याराथन धाविका पुष्पा भण्डारी घाइते

पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते हुनु भएको छ ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उहांको खुट्टा फ्याक्चर भयो ।

करिब २० किलोमिटर दूरी पार गरेपछि नै उहांले खुट्टा दुखेको महसुस गर्नु भएको थियो । दुखाइकै बीच थप १० किलोमिटर दौडिनु भयो । त्यसपछि उहां उभिनै सक्नु भएन ।

२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्योञ, उहांले भन्नुभयो, वास्ता गरिनँ र १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।

उहांको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उहांको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जित्नु भएको थियो । उहां महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुनुहुन्छ ।

एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी गरेको भए पनि चोटका कारण सपना पूरा नभएको प्रतिक्रिया दिनु भएको छ ।

महिला म्यारथनमा एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारले स्वर्ण पदक जित्नु भएको छ ।