पाकिस्तान जारी टी–२० विश्वकपको फाइनलमा

काठमाडौं । न्युजिल्यान्डमाथि शानदार जित हात पार्दै पाकिस्तान अस्ट्रेलियामा जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डलाई १५२ रनमा सीमित गर्दै पाकिस्तानले जितको आधार सहज बनाएको थियो ।

त्यसपछि प्रारम्भिक ब्याट्सम्यानद्वय बाबर आजम र मोहम्मद रिजवानले शानदार ब्याटिङ गरे। उनीहरूले पहिलो विकेटका लागि १२.४ ओभरमा १०५ रनको साझेदारी गरेका थिए ।

विकेटकिपरसमेत रहेका रिजवानले ५७ रन बनाउँदा कप्तान आजमले ५३ रन बनाए। पछिल्लो समय लयबाहिर देखिएका आजमले न्युजिल्यान्डविरुद्ध पारिको चौथो बलमै विकेटकिपरबाट जीवनदान पाएका थिए । त्यसपछि भने उनले शानदार ब्याटिङ गरे ।

४२ बलमा ७ चौका प्रहार गरेका आजमले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० औँ अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा उनको यो पहिलो अर्धशतक हो । यस्तै रिजवानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २३ औँ अर्धशतक बनाएका हुन् । यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए ।

त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५२ रन जोड्यो । न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले सर्वाधिक ५३ रन बनाए। कप्तान केन विलियमसनले ४६ रन जोडे। प्रारम्भिक ब्याट्सम्यानद्धय फिन एलनले ४ र डेभोन कनवेले २१ रन बनाए। जारी प्रतियोगितामा विस्फोटक ब्याटिङ गरिरहेका ग्लेन फिलिप्सले भने ६ रन मात्र जोड्न सके।

पाकिस्तानका साहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले एक विकेट लिए। ४९ रनमा तीन विकेट गुमाएको अवस्थामा विलियमसन र मिचेलले ६८ रनको साझेदारी गरेका थिए।