सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिंह थापाले सुर्खेतलाई सुरक्षित प्रदेश राजधानी बनाउने बताउनुभएको छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा भएर आउनुभएका थापाले आइतबार पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । कर्णाली प्रदेशको राजधानी भएकाले सुर्खेतलाई सुरक्षित सहर बनाउने आफ्नो प्रयत्न रहने उहाँले बताउनुभयो ।शान्ति सुरक्षाका हिसाबले सुरक्षित सहर बनाउन नागरिक, समुदाय, स्थानीय तथा प्रदेश सरकार लगायत सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले हातोमालो गर्नका लागि पनि उहाँले आग्रह गर्नुभयो ।
यस्तै सुर्खेतमा पछिल्लो समय बढ्दै गएको लागूऔषध सेवन तथा कारोवार नियन्त्रणका लागि पनि योजना बनाएर काम गर्ने एसपी थापाले बताउनुभएको छ । लागू औषधले व्यक्ति, परिवार समाज हुँदै राष्ट्रलाई नै हानी पुर्याउने उल्लेख गर्दै एसपी थापाले लागू औषध नियन्त्रणका लागि योजनाका साथ काम गर्ने बताउनुभयो ।
सुर्खेत पछिल्लो समय लागू औषध कारोबारका लागि हब बन्दै गएको छ । बाँके, कैलाली लगायतका जिल्लाबाट सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा समेत लागू औषध ओसारपसार हुने गरेको छ ।
"
खबर बजार । १७ पुष २०७९, आईतवार १९:१५