काठमाण्डौं । आगामी फागुन ११ गतेदेखि १७ गतेसम्म ’केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो । त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो । त्यसलाई हामी स्वागत नै गर्छौं, एन्फा महासचिव राईले बताउनु भयो ।
युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ । प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने बताउनु भयो ।
खबर बजार । ११ माघ २०७९, बुधबार १३:०१