सुर्खेत । कर्णाली प्रदेशभर ठुलो संख्यामा शिक्षक दरबन्दी रिक्त छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरुका अनूसार धेरै जसो प्राथमिक तहका शिक्षक अपुग हुँदा राहत र निजी स्रोतको भरमा विद्यालय सञ्चालन भइरहेका छन् । शिक्षक अभाव भएपछि इकाईहरुले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् ।
जुम्लामा प्राथमिक तहको ४ सय ४० दरबन्दी मध्य ४१ दरबन्दी खाली छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुुख मक्कर भण्डारीका अनुसार जुम्लामा निमावि ८० र मावि तहमा ६० दरबन्दी भएपनि अपुग भएपछि थप ५ दरबन्दी माग गरिएको छ ।
यस्तै, सुर्खेतमा ३१ दरबन्दी पद्पुर्ति हुन बाकी रहेको छ । शिक्षा विकास तथा समन्वय इकाईका सुर्खेतका शाखा अधिकृत, नारायण प्रसाद पौडेलका अनूसार जिल्लाका निमावि र मा.विमा तहमा आवश्यक शिक्षक भए पनि प्राथमिक तहमा भने ठूलो संख्यामा शिक्षक अभाव छ ।
सुर्खेतमा एक सय ५६ मा.वि, दुई सय ४५ निमावि र प्राथमिक तहको ११ सय ९१ शिक्षक दरबन्दी पद्पुर्ति छ । तर प्राथमिक तहमा ३१ दरबन्दी पद्पुर्ति हुन बाकी रहेको पौडेलले बताउनुभयो ।
यसैगरी, मुगुमा पनि ठूलो मात्रामा दरबन्दीको अभाव रहेकोे पाइएको हो । मुुगुुमा तीन वटै तहका लागि एक सय ६ दरबन्दी माग गरिएको छ ।
प्राविमा ६८, निमाविमा १३ र माविमा २५ दरबन्दी आवश्यक पर्ने देखिएको शिक्षा विकास तथा समन्वय इकाइ मुगुका प्रमुख शुर्य खत्रीले बताउनुभयो ।
यस्तै, दैलेखमा पनि ठूलो संख्यामा शिक्षक अपुग छन् । समन्वय इकाई दैलेखका निमित प्रमुख रतन विष्टका अनुसार प्राविमा तहमा अहिले कायम रहेको दरबन्दीमै पनि दुई सय हाराहारीमा शिक्षक दरबन्दी खाली रहेको छ ।
कर्णालीका अन्य जिल्लामा जस्तै रूकुुम–पश्चिमका पनि ३३ वटा तहमा दरबन्दी अभाव छ । प्रावि तहका लागि २८ दरबन्दी थप गर्न माग गरिएको छ भने निमाविमा ४ र माविमा एक जनाको दरबन्दी माग गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन मगरले बताउनुभयो ।
सरकारले पहाडि जिल्लामा ४५ विद्यार्थी बराबर एक जना शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ । हिमालमा ४० जना विद्यार्थी बराबर एक शिक्षकको नियम छ । तर कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्ड अनुसार शिक्षक पाएका छैनन् ।
शिक्षक, विद्यार्थी अनुपात अनुसार दरबन्दी मिलानको प्रयास गरिएपनि समस्या समाधान हुन सकेको छैन । विद्यालय संख्या धेरै र दरबन्दी कम भएकाले पनि सोचे अनुुसारको दरबन्दी मिल्न नसकेको शिक्षा विकास तथा समन्वय इकाईहरुका प्रमुखहरुले बताउनु भयो ।
शिक्षक सेवा आयोगले लिएको परिक्षाबाट छनौट भएकाहरु आएको खण्डमा समेत सबै पद पुरा नहुने सरोकारवालाहरु बताउछन् ।
"
खबर बजार । २५ माघ २०७९, बुधबार १९:३२