त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको स्कटल्यान्डमाथि सानदार जित

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ ।

दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।

कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।