मुगु । मुगु सोरु गाउँपालिकाको कुलाहास्थित झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् ।
पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुका बासिन्दालाई वारिपारि गर्न मुस्किल भएको हो ।
मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित कुलाहा झोलुङ्गे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।
खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताउनुभयो ।
उहाका अनुसार पुलमा बिछ्याइएका पाता सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुँडिएको छ ।
स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्नुपर्छ । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकको काममा र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताउनुभयो ।
सोरु गाउँपालिकास्थित नेरघाट झोलुङ्गे पुल पनि लामो समयदेखि जीर्ण छ । गत वर्षायाममा माथिबाट ढुङ्गा खस्दा पुलमा क्षति भएको हो ।
विसं २०५२ मा निर्माण गरिएको उक्त पुलको करिब आठ महिनादेखि मर्मत गरिएको छैन । उक्त पुल जीर्ण भएपछि नेर र हुम्लाको जैरगाउँका बासिन्दालाई वारिपारि गर्न समस्या भएको छ ।
बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भए पनि कम बजेट हुँदा समस्या भएको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।
"
खबर बजार । १० फाल्गुन २०७९, बुधबार १९:५०