समानुपातिकको सन्दर्भमा संस्थापन समूहले नियमविपरीत कार्य गरेको देउवा पक्षको निष्कर्ष 

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहका नेताहरुले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको निष्कर्ष निकालेको छ ।

तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काको पहलमा भएको भेलाले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै खड्काले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरेको ब्रिफिङ गर्नुभएको हो ।

‘विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे । समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,’ उहाँले बैठकमा भन्नुभयो, ‘हाम्रो उम्मेदवारहरु कोर्टमा गएका छन् ।’

उहाँले दलित कोटाबाट समानुपातिक सूचीमा परेका उम्मेदवार मानबहादुर नेपाली पनि अदालत गइसकेको जानकारी गराउनुभयो ।

पार्टीका तत्कालीन महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्मासहितको समूहले गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसभित्रको द्वन्द्व बढ्दो छ ।

अहिले विशेष पक्षविरुद्ध कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूह एकढिक्का छन् ।