जुम्लाकाे तिला गाउँपालिका १ मा सुक्खा पहिराे खस्दा यातायात प्रभावित

जुम्ला – जुम्लाको तिला गाउँपालिका १ मा सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग भएर चल्ने यातायात प्रभावित भएका छन् ।

शुक्रवार दिउँसाे ठूलै पहिरो खसेर सडक पुरिएपछि यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दिउँसो खसेको केही पहिरो पन्छाएपछि झन्डै पाँच घण्टा ठप्प रहेको राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ । एकतर्फी गाडी चले पनि आलोपालो गर्नुपर्दा अहिले पनि त्यस क्षेत्रमा गाडीको लामो लाइन छ ।

जुम्ला सदरमुकाम खलङ्गादेखि नाग्म कालीकोट हुँदै सुर्खेत जाने यातायात र सुर्खेत, नेपालगञ्ज, कालीकोट हुँदै जुम्ला आउने गाडीको लामो लाइन लागेको हो । लामो समय कुर्नुपरेकाले यात्रु समस्यामा परेका छन् ।

ठूला–ठूला ढुङ्गा झरेकाले झरेकोले ब्रेकर लगाएर फुटाउने काम चलिरहँदा यातायात दुईतर्फी सञ्चालनमा आउन समय लाग्ने प्रहरीले जनाएको छ ।