वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड अब्दुल्लाह अलमुताइरीलाई

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरेर अलमुताइरीलाई ’स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिएको हो ।

यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनोनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् ।

अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको थियो । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।