सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, मूल्यको रेकर्डमा सबैभन्दा उच्च

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थ (पेट्रोल, डिजल) को मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले हालसम्मकै उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

भोलि देखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल, मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोल १ सय ४२ र डिजल, मट्टीतेलको मूल्य प्रतिलिटर १ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य १ सय १६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर एक सयले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको छ ।

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः