कर्णाली क्रिकेटलाई राष्ट्रिय स्तरको पहिलो उपाधि

जनकपुरधाम । कर्णाली प्रदेशले पहिलो पल्ट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

रामजानकी क्रिकेट मैदान भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो उपाधि जितेको हो ।

कर्णालीले जितका लागि सुदूरपश्चिमलाई १४१ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको सुदूरपश्चिम ८९ रनमा अल आउट भयो ।

सुदूरपश्चिमका लागि कप्तान नारायण जोशीले १५ रन जोडे । अन्तिम विकेटका रुपमा नारायण जोशीलाई १८.१ ओभरमा प्रकाश जैशीले क्याच आउट गराउँदै टिमको पहिलो उपाधि पक्का गरे । कर्णालीका लागि युनिश विक्रम सिंहले सर्वाधिक ३ विकेट लिए ।

ब्याटिङमा कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले २७ बलमा २१ रन बनाए । अर्का ओपनर दिवान पुन डकमा आउट भए ।

अर्जुन घर्ती पनि डक आउट भएपश्चात कर्णाली धरमराएको कर्णालीको ब्याटिङ दिपेन्द्र रावतले उकासे । उनले ५० बलमा ४९ रन बनाए तेस्तै हिमान्सु शाहीले २१ बलमा २५ रन बनाए । कर्णालीका लागि विपिन रावलले आक्रामक पारि खेले उनले १३ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए । प्रकाश जैशी शुन्य र दिनेश अधिकारी ११ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले समान २–२ विकेट लिए ।