काठमाण्डौ । भदौ १५ गते शुक्रबार, सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो ।
इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो ।
निष्काशनमा परेका कुल आवेदनमध्ये १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४१ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । यस अनुसार कुल आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन् ।
खबर बजार । १५ भाद्र २०८०, शुक्रबार १२:२४