

राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।
पूर्वसभामुख समेत रहनु भएका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जित्दै आउनु भएको थियो । उहाँ नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल पर्नु भएको थियो ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएको उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभएको थियो ।
२०५६ को निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गर्नु भएको थियो ।
उहाँ जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख, २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो ।

खबर बजार । २६ भाद्र २०८०, मंगलवार ०५:१३