काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । २९ असोजमा धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताउनु भयो ।
पहिलो चरणमा योग्य संस्थागत लगानीकताई सार्वजनिक निष्काशन हुने येयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्काशन गर्न स्वीकृति दिएको उहाँले बताउनु भयो ।
कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट लिएको आशयकमूल्यका आधारमा आधार मूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१ रुपैयाँ ५० पैसा र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी बोर्डमा आवेदन दिएको थियो । तर, उक्त मूल्य भन्दा कममा बोर्डले स्वीकृति दिएको हो ।
यससँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने पहिलो कम्पनी हुने भएको छ । कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ ।
योग्य संस्थागत लगानीकर्ताले दिएको आधार मूल्यको २० प्रतिशतको तलमाथि हुने माथिल्लो र तल्लो सीमाभित्र रहेर आवेदन दिने सक्नेछन् । यसरी आवेदन माग गर्दा योग्य संस्थागत लगानीकर्तालाई निष्काशन हुने सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ सोही मूल्यलाई कटअफ मूल्य निर्धारण हुने व्यवस्था बुक बिल्डिङ निर्देशिकामा छ ।
यसरी निर्धारण हुने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर सर्वसाधारालाई निष्काशन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निष्काशन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो ।
यससँगै धितोपत्रको सार्वजनिक निष्काशनमा बुक बिल्डिङ विधिको सुरुवात भएको धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले बताउनु भयो ।
खबर बजार । ३० आश्विन २०८०, मंगलवार १८:३२