अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५७ पैसा पुगेको छ । यो हालसम्मकै महँगो हो ।

बुधबार डलरको भाउ १३३ रुपैयाँ ५१ पैसा थियो । बिहीबार ६ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

यसअघि डलरको भाउ अधिकतम १३३ रुपैयाँ ५५ पैसासम्म मात्रै पुगेको थियो ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने भएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ । तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन् ।