आईसीसी टी२० विश्वकप एसिया छनोट: सेमिफाइनलमा युएई विरुद्ध नेपालले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरी प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।

समूह ए अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुादै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो ।