भोलि सोमवारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा ल्याउने तयारी

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि सोमवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जानकारी दिएको हो । भोलि राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा भोलिदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये शुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर नि:शुल्क दर्ता गराउन सकिन्छ । प्राधिकरणले पटक–पटक एमडीएमस लागू गर्ने जनाए पनि भोलिदेखि भने दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा नै बन्द गर्ने जनाएको हो ।