

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ । कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ ।
यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो ।
सो मध्येमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि बाँडफाँट गरिसकेको छ ।
सोपश्चात दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

खबर बजार । १ पुष २०८०, आईतवार १६:०४