कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा विद्युत सेवा

कालीकोट । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा विजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको बताउनुभयो ।
रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ ।
आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्याउन बाँकै रहेको उहाले बताउनुभयो ।
आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताउनुभयो ।
पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताउनुभयो ।
कालिकोटका कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताउनुभयो ।