अरुण चौधरी पक्राउ प्रकरण: विनोद चौधरीको आरोप ‘सरकारले प्रतिशोध साध्यो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गर्नु भयो ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उहाँले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताउनु भयो ।

‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ’, उहाँले भन्नुभयो ।