

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आज ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ ।

खबर बजार । २५ माघ २०८०, बिहीबार १७:४१