कर्णालीमा लगानी सम्मेलन वैशाख १९ र २० गते हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले यसअघि पटक पटक सार्दै आएको लगानी सम्मेलनको मिति तय भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले आउँदो वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन महिनाभित्रै लगानी सम्मेलन गर्ने भने पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।
प्रदेश सरकारले ०७६ देखिनै लगानीकर्तालाई आकर्षित गराउने भनेर लगानी सम्मेलनको तयारी भएको कर्णालीमा अहिलेसम्म सम्मेलन हुन सकेको छैन ।

प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा निर्देशन समिति पनि गठन भएको बताउनु भयो ।
समितिमा मन्त्री, सचिवदेखि योजना आयोगका पदाधिकारी रहेका छन् ।
अब अन्य समितिहरू पनि गठन हुने मन्त्री जिसीले बताउनु भयो ।

केन्द्र सरकारले वैशाखमै लगानी सम्मेलन गर्ने भएकाले कर्णालीमा पनि त्यसै अनुसार सम्मेलनको मिति तोकिएको हो ।
प्रदेश योजना आयोगले प्रारम्भिक रूपमा २० भन्दा बढी बुँदामा लगानीकर्ताहरू समक्ष प्रस्ताव पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा मुख्यमन्त्री शर्मालाई बुझाईसकेको छ ।

प्रस्तावमा कर्णालीको जलश्रोत, जडिबुटी र कृर्षीका साथै रैथाने उत्पादनमा जोड दिईएको छ ।