सुर्खेत । प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परिक्षार्थी कारबाहीमा परेका छन् ।
आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका-१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन् भने अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोेगले जनाएको छ ।
आयोगका अनुसार शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही र अन्य २० जनालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ‘ख’ बमोजिम उनीहरूलाई कारबाही गर्ने निणर्य गरेको हो ।
खबर बजार । १९ भाद्र २०७९, आईतवार ११:०६