देशले नयाँ प्रधानमन्त्री आगामी १३ गते पाउने, को-को हुन्छन् त मन्त्री ? 

काठमाडौं । प्रतिनिधि सभाको नयाँ जनादेशको आधारमा चैत्र १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहण गराइने भएको छ ।

बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको हो ।

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेको र अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीको भनाई छ ।

साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उहाँले जानकारी दिनुभयो । यद्यपि मन्त्रिपरिषद्को आकार र व्यक्तिबारे भने टु‌ंगो लागेको छैन ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार, १२ गते सांसदहरूले शपथ लिनासाथ अन्य विषय पनि अघि बढ्छ ।

संघीय संसद् सचिवालयले १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिसकेको छ । सांसदहरूको शपथ लगत्तै भोलिपल्टै प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाइएको हो ।

रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार, बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्नेगरी रास्वपा अघि बढेको हो ।

रास्वपाले गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो भनेको झण्डै दुई तिहाई मत हो ।

यही मतका आधारमा रास्वपाले एकल सरकार गठन गर्न लागेको हो ।

संघीय संसद् सचिवालयले १६ गते संघीय संसद्को अधिवेशन बोलाउनेगरी तयारी अघि बढाएको छ ।