खेलाडीमा कोरोनाको शंकापछि प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत पुलिस र प्रदेश–१ को खेल स्थगित

काठमाडौं । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि प्रधानमन्त्री कप क्रिकेट अन्तरगत शनिवारका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ ।

स्थगित भएको आजको खेल कहिले हुने भन्ने तोकिएको छैन ।

खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । शनिबारको दोस्रो खेल भने निर्धारित समयमै त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमै हुनेछ ।

एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई दुई रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।