सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार 

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको नि:शुल्क सटल बस सेवा विस्तार गरिएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिनुभएको हो । उहाँले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराउनुभएको छ ।

सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको हो ।

सूचनाअनुसार नागरिक उड्डयन कार्यालयबाट यात्रुहरुका लागि नि:शुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्‍चालन हुँदै आएकोमा उक्त सटल बस सेवा मिति २०८३ /०२/०८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुने छ ।

सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

पछिल्लो समय काठमाडौंबाट दैनिक नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो ।

यही अवस्थालाई सहज बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको भनाइ छ ।