राजेन्द्र महतोले छाडे लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाड्नु भएको छ ।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गर्नु भएको छ ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उहाँले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताउनु भयो ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भन्नुभयो, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

लोपपामा वरिष्ठ नेता महतो अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट हुनुहुन्थ्यो । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उहाँले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गर्नु भएको थियो ।