सत्तारुढ गठबन्धनको दुर्घटना, नयाँ सत्ता समीकरण बन्दै

काठमाडौं । कांग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धन दुर्घटनामा परेको छ । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने तयारी भएको छ ।

हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राख्नु भएको थियो । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएपछि अर्को गठवन्धन बन्ने निश्चित भएको हो ।

आजै एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय समेत गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्ला घटनाक्रमको विश्लेषण भएको बताउनु भयो ।

‘प्रधानमन्त्रीले यो गठवन्धन आफ्नो लागि कठन हुँदै गएको, कतिपय विवादित र असफल मन्त्रीलाई हटाउन नसकेको कारण नयाँ ढंगले अगाडि बढ्ने संकेत गर्नुभएको छ । हामीले पनि यस विषयमा आज गम्भीर छलफल गरेका छौं । स्थिति परिपक्व भइसकेको छैन, तर नयाँ विकासक्रमतर्फ राजनीति अघि बढेको छ’, उहाँले भन्नु भयो ।

रास्वपाको आजको वैठकले नयाँ गठवन्धनका लागि तयार रहने निर्णय गरेको छ । पार्टीले यसका विषयमा सबै पहल गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ ।