मधेश सरकारमा मन्त्रिपरिषद विस्तार, एमालेका तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । नेकपा एमालेबाट तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्नु भएको हो ।

शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिनु भएको छ ।

यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसक्नु भएको छ । शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

नेपाली कांग्रेस–माओवादी–जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नु भएको थियो ।

त्यस्तै मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो । जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ ।