एमालेबिनाको सर्वदलीय बैठकको सहमति- ‘अवरोध खुलाउन पहल गर्ने’

काठमाडौं । नेकपा (एमाले) बाहेकका दलहरूले प्रतिनिधि सभामा जारी निरन्तरको अवरोध हटाउन पहल गर्ने सहमति गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागि भएन ।

स्वतन्त्र हुनुपर्ने सभामुखले नेकपा (माओवादी केन्द्र) को कार्यकर्ताको रूपमा सत्ता गठबन्धनको स्वार्थलाई केन्द्र भागमा राखेर भूमिका निर्वाह गरिरहेको एमालेको दावी छ ।

एमालेले हटाएका १४ साँसद्को सुचना टाँस नगरेर माओवादी केन्द्रको कार्यकर्ताको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै एमालेले अवरोध गरिरहेको छ ।

बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे भने कुनै टुंगोमा नपुगिएको बैठकमा सहभागि एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले पनि एमसीसीबारे कुनै टुंगोमा नपुगिएको बताउनुभयो । सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो राय रहेको र एमसीसीबारे दलहरु नै निर्णायक हुने सापकोटाको भनाई छ ।