अवरोधकै बिच संसद् चलाउने ‘मुड’मा सत्ता गठबन्धन, प्रधानमन्त्री र सभामुखबीच फोनवार्ता

काठमाडौं । सत्ता गठबन्धनले नेकपा (एमाले) अवरोध भइरहे पनि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ ।

सत्ता गठबन्धनका मुख्य नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको अवरोध भइरहे पनि संसद् सञ्चालन गर्ने ‘मुड’ बनाउनुभएको हो ।

प्रधानमन्त्री देउवाले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन आग्रहसमेत गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको जारी बैठककै बीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले बुधबारको बैठक बस्ने वा नबस्नेबारे निधो खोजेपछि प्रधानमन्त्री देउवाले सभामुखसँग संवाद गर्नुभएको काँग्रेस नेताहरूले बताएका छन् ।

स्वतन्त्र हुनुपर्ने सभामुखले नेकपा (माओवादी केन्द्र) को कार्यकर्ताको रूपमा सत्ता गठबन्धनको स्वार्थलाई केन्द्र भागमा राखेर भूमिका निर्वाह गरिरहेको एमालेको दावी छ ।

एमालेले हटाएका १४ साँसद्को सुचना टाँस नगरेर माओवादी केन्द्रको कार्यकर्ताको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै एमालेले अवरोध गरिरहेको छ ।