एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आजको बैठकले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा पेस भएको एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।

बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले एमसीसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।