गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय

पोखरा । गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गर्नु भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिनु भयो ।

यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गर्नु भएको थियो । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गर्नु भएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिनु भयो ।

सँगै मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । हालै एमाले लमजुङको अध्यक्षमा हार व्यहोरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय भएको हो ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गर्नु भएको छ । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेको चुमानले जानकारी दिए ।

गण्डकीमा सभामुखलाई समेत प्रयोग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश भएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गर्नु भएको थियो ।