कार्यदलको बैठक नसकिदा सर्यो प्रतिनिधिसभाको बैठक

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ ।

बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।

उक्त समितिले संसदीय समितिको कार्यादेशमा सहमति जुटाएपछि आइतबार आज नै प्रतिनिधिसभाको बैठक बस्नेछ ।