
काठमाण्डौ । बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ ।
आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ ।
सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटरब्याज, लघुवित्त र सहकारीका समस्या समाधान गर्न तथा जलवायु अनुकूलन क्षमता बढाउने लगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।




खबर बजार । १५ जेष्ठ २०८१, मंगलवार १२:१२