काठमाडौं । आगामी चैत ७ र ८ गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको पूर्वतयारी सम्पन्न भएको छ ।
भीमसेन बन्जारा संयोजकत्वको निर्वाचन समितिले एनआरएनएको इतिहासमै पहिलोपटक विद्युतीय मतदान प्रणालीबाट सम्पन्न हुन थालेको निर्वाचनको तयारी पूरा भएको जनाएको हो ।
फेव्रुअरी १४ मा अध्यक्ष पन्तले ३६३४ जना मतदाता नामावलीको सूची निर्वाचन समिति संयोजक बञ्जारालाई बुझाउनुभएको छ । समितिले निर्वाचन कार्यतालिका सार्वजनिकसमेत गरिसकेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७ तारिखसम्म मतदाता नामावली उपर दावी विरोध, मार्च ३ मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
यसैगरी मार्च ६ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मार्च २१ देखि २२ मा मतदान गर्ने र त्यसपछि मतगणना र नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन सम्पन्न गर्न बन्जारा संयोजकत्वको निर्वाचन समितिले काम गरिरहेको छ जसमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा. विष्णुमाया परियार (अमेरिका) सदस्य छन् । सदस्य सचिवको रुपमा भूषण घिमिरे (जापान) लाई चयन गरिएको छ ।
खबर बजार । ४ फाल्गुन २०७८, बुधबार १३:५३