काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् ।
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार प्रदेश सरकारहरुमा पनि ३÷३ वटा सरकार बाँड्ने सहमति भएको छ । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने समझदारी छ ।
संविधान संशोधनका लागि पनि प्रारम्भिक सहमतिको खाका तयार भएको छ, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।
प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने सहमति भएको छ ।
प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।
खबर बजार । १९ असार २०८१, मंगलवार ०८:३९