काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) को बारेमा स्पष्ट पार्न नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ ।
संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीको बारेमा बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिका र भिडिओमार्फत् एमसीसीकाे बारेमा स्पष्ट बनाइने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उहाँको भनाई छ । खड्काकाअनुसार देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्याइनेछ ।
यसैबीच, फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने भएको छ ।
प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।
केन्द्रले तय गरेको कार्यक्रम अनुसार प्रदेश र जिल्लाले लागू गर्नेछन् । केन्द्रले बनाएको अभियानलाई सहयोग पुर्याउन तल्लो संरचनाले थप कार्यक्रम तय गर्न सक्नेछन् ।
खबर बजार । २३ फाल्गुन २०७८, सोमबार १३:१५