टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाण्डौ । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई सभाले पारित भएको हो ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।

सरकारले २०७९ सालको फागुन २५ गते यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले हिजो मात्रै प्रतिनिधि सभामा पेश गरेको विधेयक आजै पारित भएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेसँगै निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेम सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका छन् ।