गठबन्धन जोगाउन ‘प्रधानमन्त्री कार्ड’, देश थप अस्थिरतातर्फ…

काठमाण्डौँ । सत्ता गठबन्धनमा सत्तास्वार्थको कारण अविश्वास पैदा हुन थालेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘प्रधानमन्त्री कार्ड’ परिचालन गर्न थाल्नुभएको छ । गोरखाबाट निर्वाचन लड्न थाल्नुभएका प्रचण्डले गोरखामा भने अबको प्रधानमन्त्री आफू हुने भएकोले मतदान गर्न आग्रह गरिरहनुभएको छ ।

यस्तो अभिव्यक्तिको कारण गठबन्धनको नेतृत्त्वकर्ता दल नेपाली काँग्रेसले असहयोग गर्नसक्ने आशंका उत्पन्न भएपछि बालुवाटारमा पुगेर काँग्रेस सभापति शेरबहादुर देउवालाई भने अबको प्रधानमन्त्री तपाईँ नै हो भन्ने गरेको स्रोतले बताएको छ । पाँचौँ पटक प्रधानमन्त्री बनिसक्नुभएका देउवाले थप अरु दुई पटक गरेर सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषको उदृत गरिरहनुभएको छ ।

प्रधानमन्त्रीको कार्ड बाँडिरहनुभएका प्रचण्डले केहिदिनअघि तनहुँ पुगेर काँग्रेस नेता रामचन्द्र पौडेललाई पनि अबको प्रधानमन्त्री बनाइदिने बचन दिनुभएको थियो । त्यो पनि त्यहाँका मतदातालाई साँक्षी राखेर ।

नेकपा (एमाले)ले अबको प्रधानमन्त्रीमा निर्विकल्प पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिरहेको बेला एमालेलाई हराउन भन्दै बनेको सत्ता गठबन्धनभित्र अबको प्रधानमन्त्रीका दाबेदार करिव दर्जन पुग्न थालेका छन् ।

काँग्रेसका वरिष्ठ नेता सशांक कोइराला मात्रै होइन महामन्त्री गगन थापाले समेत प्रधानमन्त्री हुने दावी गरिरहेका छन् । सत्ता स्वार्थको कारण अस्थिरता निम्तिएको नेपालमा प्रधानमन्त्रीको दावेदारहरु बढिरहँदा आगामी पाँच वर्ष देश थप बर्वादितर्फ धकेलिने निश्चित प्रायः छ ।

एमालेबाट बिद्रोह गरी माधव नेपालले बनाएको सत्ता गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक टेलिभिजन अन्तर्वार्तामा गठबन्धनलाई जिताउन आग्रह गर्दै गठबन्धनबाट आगामी पाँच वर्षमा तीन जना प्रधानमन्त्री बन्ने बताउनुभएको थियो ।