कोसोभोका प्रतिनिधि मण्डल गुराँसमा, भगिनी सम्बन्धबारे उत्साहित

दैलेख । दक्षिण पूर्वी युरोपियन देश कोसोभोको प्रतिनिधि मण्डलले दैलेखको गुराँस गाउँपालिकामा सुशासनको ममिलामा अध्ययन/अवलोकन र अन्तरक्रिया गरेको छ ।

गुराँस गाउँपालिकामा सञ्चालीत विभिन्न आयोजनामा अध्ययन सकेर कोसोभो (COSOVO) सरकारका कार्यक्रमसंग सम्बन्धित पदाधिकारीहरू (स्थानीय सरकारका मेयर र नगरपालिका संघका अध्यक्ष समेत), हेल्भेटास कोसोभो (COSOVO) तथा कोसोभोमा सामाजिक लेखापरीक्षणमा काम गरिरहेका नागरिक समाजका प्रतिनिधिहरूले गाउँपालिका सरकारसँग सुशासनको ममिलामा अन्तरक्रिया समेत गरेको हो ।

विशेषगरी गुराँस गाउँपालिका सरकार, हेल्भेटास र सोसेकको साझेदारीमा सञ्चालीत खानेपानी तथा सरसफाई सम्बन्धि योजनामा अध्ययन केन्द्रीत गरिएको छ । विभिन्न कार्यक्रम अन्तरगत अवलम्वन गरिदै आएको सुशासनका औजारका अभ्यासको विषयमा टोलीसँग अन्तरक्रिया भएको छ ।

सो अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले खानेपानी तथा सरसफाईको क्षेत्रमा भएका क्रियाकलापको विषयमा जानकारी गराउनुभएको छ भने ८ नम्बर वडा अध्यक्ष एवं संस्थागत विकास, सेवा प्रवाह र सुशासन समितिका संयोजक दीपेन्द्र ओलीले आफूहरुले सुशासनको प्रवर्द्धनको लागि गरिरहेका कामको बारेमा जानकारी गराउनुभयो ।

साथै कोसोभोको स्थानीय सरकारसँग गुराँस गाउँपालिकाको भगिनी सम्बन्ध अघि बढाउन गुराँस गाउँपालिकाका अध्यक्ष विसीले प्रस्ताव गर्नुभएको छ । प्रस्ताव गर्दै गर्दा प्रतिनिधि मण्डलले ताली बजाएर सो प्रस्ताव प्रति उत्साह प्रकट गरेका छन् ।

प्रतिनिधि मण्डलले आफ्नो देश फिर्ता भएर भगिनी सम्बन्धको प्रक्रिया अघि बढाउने बताएको छ ।