‘संङ्घीयता महङ्गोको तर्क सहि होइन’- सभामुख घिमिरे

काठमाडौँ । नेपालका तीन वटै तहका सरकारको प्राकृतिक स्रोत तथा वित्त सम्बन्धि व्यवस्थापनको लागि सरकारलाई सघाइरहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्मारिका सार्वजनिक गरेको छ ।
संघीय इकाईको आवधिक योजना र बजेट, नेपालमा संघीयता, अर्थशास्त्र, अर्थतन्त्र, बजेट र सार्वजनिक ऋण, वित्तीय संघीयता कार्यान्वयनमा अन्तर सरकारी वित्त व्यवस्थापन प्रणाली र आगामी कार्यदिशालगायतका शीर्षकका विषय विज्ञका लेख समावेश गरेर स्मारिका सार्वजनिक गरिएको हो ।
एक कार्यक्रम आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्मारिका लोकार्पण गर्नुभएको आयोगका सदस्य जुद्धबहादुर गुरुङले खबरबजारलाई जानकारी दिनुभयो ।
लोकार्पणमा सभामुख गुरुङले संघीयता महंगो भएको टिप्पणी तर्कसंगत नभएको बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका शुक्रबार लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी संघीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो ।
उहाँले संघीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
संघीयतासम्बन्धी अभ्यास, जिम्मेवारी र भूमिका कस्तो रह्यो भनी अब गम्भीर समीक्षाको खाँचो रहेको सभामुख घिमिरेले बताउनुभयो ।
वित्तीय संघीयताका ज्ञाता यमनाथ शर्माले ऋण लिएर भए पनि प्रदेश र स्थानीय तहलाई खर्चको व्यवस्थापन गरेकाले नेपाल सरकार वित्तीय संघीयता कार्यान्वयनका हिसाबले उदार रहेको टिप्पणी गर्नुभयो ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता, राजस्व व्यवस्थापन, खर्च जिम्मेवारी, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, स्रोत परिचालनसम्बन्धी विवाद समाधान, प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन अध्ययन गरेर प्रचारप्रसार गर्ने कार्यलाई समेत आयोगले कार्यक्षेत्र बनाएको जानकारी दिनुभएको छ ।
आयोगका सचिव किरणराज शर्माले संघीयता, वित्त संघीयता, अन्तर-सरकारी वित्त व्यवस्थापन र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा सम्बन्धित विषयका ज्ञाताका ३८ वटा लेख रचना प्रकाशित स्मारिकामा समावेश रहेको जानकारी दिनुभयो ।
प्राकृतिक संरक्षणका क्षेत्रमा कार्यरत ड. घनश्याम गुरुङले प्रकृति र प्राकृतिक स्रोतसाधनको दिगो विकास र उपयोग गर्नका विषयमा आएका आवाजलाई विकास विरोधी भन्न नमिल्ने बताउनुभएको छ ।
पूर्वसचिव वेगेन्द्र शर्मा पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तीन तहकै सरकारलाई सन्तुलित, पारदर्शी र न्यायिक ढंगले सरकारको ढुकुटीको रकम वितरणको अधिकार रहने बताउनुभयो ।