
काठमाडौं । पार्टी छोडेको एक हप्ताभन्दा बढि समय भइसकेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री समेत रहेका प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले यादवसहित चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादवले जसपा नेपाल पनि त्यागेर नेकपा (एमाले)ले प्रवेश गरेर पर्सा क्षेत्र नम्बर-१ बाट उम्मेदवारी समेत दिनुभएको छ ।
उहाँ अहिले चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।
उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरीत कार्य गरेकोले आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




खबर बजार । १४ माघ २०८२, बुधबार १९:५१