
काठमाडौं । नेपालमा यसपालीको मनसुन भित्रिएको एक हप्ता सम्म पनि वर्षा कमजोर भइरहेको छ । मौसमविद्हरुकाअनुसार मनसुन भित्रिए पनि देशभर फैलन नसकेको हो ।

अबको ३/४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आउँदो मंगलवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुनेछ । असार १७ गते अर्थात् आउँदो बुधवारदेखि देशभर वर्षा हुनेछ ।
पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदीबीचका तराई क्षेत्रमा भने आउँदो मंगलवार नै राम्रो वर्षा हुने संभावना छ । पूर्वी पहाड तथा मध्यपहाडका केही ठाउँमा भने आज भोलि पनि वर्षाको संभावना छ ।
अर्को हप्ता अर्थात असार २२ गतेदेखि २९ गतेको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको संभावना छ ।
यसवर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।




खबर बजार । १३ असार २०८३, शनिबार १६:४६