काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुभएका कमल थापा अध्यक्षको रुपमा फिर्ता भएसँगै ‘राप्रपा नेपाल’को घोषणा भएको छ ।
काठमाडौंमा विशेष समारोह गरेर पार्टीको पुन: घोषणा गरिएको हो ।
कार्यक्रममा थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी माग्नुभएको छ । उहाँले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताउनुभयो ।
पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक-पटक सरकारमा जानु गल्ती भएको उहाँको भनाई छ ।
अध्यक्ष थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताउनुभयो ।
‘पूर्वपञ्च’का घटकहरू एकता गरि राष्ट्रिय प्रजातन्त्र पार्टी बनाउँदा त्यागेको ‘राप्रपा नेपाल’ मा थापा पुन: अध्यक्षको रुपमै फिर्ता हुनुभएको हो ।
गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग थापा पराजित हुनुभएको थियोे ।
राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । वि. सं. २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो ।
त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा हुनुहुन्थ्यो । शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गर्नुभएको छ ।
खबर बजार । ७ फाल्गुन २०७८, शनिबार १५:१३