कसले ‘एमसीसी’ बढ्ता महत्त्वका साथ अघि बढाए ?

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट सरकारले प्रतिनिधि सभामा पेश गरेपछि यससँग जोडिएका धेरै विषयवस्तु छताछुल्ल हुन थालेका छन् ।

सडक र संसदमा ठूलो आवाजमा बिरोधका स्वरहरू सुनिए पनि सरकारले प्रस्ताव पेश गरेपछि पक्ष/विपक्षमा तर्क आउन थालेका छन् ।

अरू पनि विषय उठाएर संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले जारी राखेको अवरोध नखुलाई प्रस्ताव पेश भएको छ ।

प्रस्ताव दर्ता गर्नुपूर्व सत्ता गठबन्धनको बैठकमा सहमति जनाए पनि ‘एमसीसीको पक्षमा नभएको’ भनेर सत्ताधारी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेताहरूले बताउन थालेका छन् ।

आउदो चुनावलाई केन्द्रीत गरी केही दलहरूले लोकप्रियता गुम्न नदिन यसो गरिएको अनुमान धेरैले गरेका छन् । यसैगरी, अमेरिकासँग एउटा प्रतिवद्धता, कार्यकर्तासँग अर्को, गठबन्धनमा एउटा र संसद्मा अर्को किसिमको भूमिका देखाइरहेको भन्दै सत्ताधारी दलहरूको आलोचना भएको छ ।

यद्यपि, सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसमा भने गौरवका साथ एमसीसी पास गर्नुपर्ने पक्षमा एकमत देखिएको छ ।

यहाँ एमसीसी कसरी, कहिले, कसले प्राथमिकता र महत्त्वका साथ अघि बढाए त ? भन्ने विषयलाई फर्केर हेर्न सान्दर्भिक ठानिएको छ ।

यहाँसम्म यसरी आयो ‘एमसीसी’…

१) डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रस्ताव पठाएको । (नेतृत्व: एनेकपा माओवादी, साथ मधेसी मोर्चा)

२) गैरदलिय मन्त्रिपरिषद्बाट सम्भाव्यता अध्ययन गर्न समिति गठन । (अध्यक्ष: खिलराज रेग्मी, अर्थमन्त्री: शंकरप्रसाद कोइराला)

३) सुशील कोइराला प्रधानमन्त्री हुँदा परियोजनामा नेपाल छनोट भएको जानकारीपछि निर्देशक समिति गठन र अध्ययनको लागि प्राविधिक सहायता स्विकार गर्न सम्झौता । (नेतृत्व: नेपाली काँग्रेस, साथ: नेकपा एमाले र मधेसी मोर्चा)

४) पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा कम्प्याक्टलाई अन्तिम रुप दिइएको । (नेतृत्व: नेकपा माओवादी केन्द्र, साथ नेपाली काँग्रेस)

५) शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा हस्ताक्षर भएको । (नेतृत्व: नेपाली काँग्रेस, साथ: नेकपा माओवादी केन्द्र)

६) नेकपा सरकारले संसदमा दर्ता गरेको, तर छलफल अघि नबढेको । (नेतृत्व: नेकपा एमाले, साथ नेकपा माओवादी केन्द्र)

७) हाल प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा एमालेको अवरोधकै बीचबाट संसद्मा पेश गरिएको । (नेतृत्व: नेपाली काँग्रेस, साथ: नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा)